Need Help ?
Call: +977- 066520105

निर्देशन कार्यान्वयन गर्ने सम्बन्धमा

प्रकाशित मिती:  २०७१।१।५

प.सं. ०७०।०७१                                                           

च.नं. १०११                                                                                                                       मिति : २०७१।१।५

विषय :- निर्देशन कार्यान्वयन गर्ने सम्बन्धमा

श्री जिल्लामा सञ्चालित सम्पूर्ण विद्यालयहरु‚

लमजुङ ।

            प्रस्तुत विषयमा शिक्षा विभाग तथा केन्द्रीय निकायहरुबाट भएका निर्देशनहरु, जिल्ला शिक्षा कार्यालय र शिक्षकका पेशागत संस्थाहरु तथा विभिन्न सञ्चार माध्यम र सरोकारवालाहरुबाट जिल्लामा स्वच्छ, मर्यादित र स्तरीय शैक्षिक वातावरण कायम गर्ने दिशामा उठाइएका आवाज, मावि/उमावि प्रअ बैठकको भावना तथा वर्तमान शिक्षा ऐन, नियमहरुलाई मध्यनजर गरी विद्यालयहरुमा अनिवार्य रुपमा निम्नानुसार गर्नु गराउनु हुन अनुरोध छ ।

                        निम्न :-

  1. प्रारम्भिक बालविकास तथा विद्यालय उमेरका सबै बालबालिकाहरुको पहूँचलाई विद्यालय शिक्षामा सुनिश्चित गर्न बालविकास केन्द्र तथा विद्यालय बाहिर रहेका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई बालविकास केन्द्र र विद्यालयमा ल्याउने वातावरण सृजना गर्ने र विद्यालय शिक्षाका समग्र शैक्षिक कार्यक्रमहरुलाई गुणस्तरीय शिक्षाको अभिबृद्धिमा केन्द्रित गर्ने ।
  2. निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा लागु भएका गा.वि.स. हरुमा बालविकास केन्द्र तथा विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई बालविकास केन्द्र र विद्यालयमा भर्ना गर्न पहल गर्ने र आगामी शैक्षिक सत्रमा ती गा.वि.स. हरुलाई आधारभूत शिक्षा उमेर समूहका सबैका लागि शिक्षा प्राप्त भएको गा.वि.स.का रुपमा घोषणा गर्न पहल गर्ने ।
  3. विद्यालयको पठनपाठनमा असर पर्ने गरी विद्यालय बन्दगर्ने, विद्यालय परिसर र सम्पत्ति अन्य प्रयोजनका लागि प्रयोग गर्ने तथा बालबालिकाहरुलाई गैह्र शैक्षिक कार्यक्रमसँग सम्बन्धित प्रभातफेरी, भेला र सम्मेलनमा संलग्न गराउने परिपाटीको अन्त्य गरी बालबालिकाहरुको शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने ।
  4. प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका २०६७, भयमुक्त सिकाई वातावरणका निमित्त नीतिगत व्यवस्था २०६७, विद्यालय शान्तिक्षेत्र राष्ट्रिय कार्यढाँचा र कार्यान्वयन निर्देशिका २०६८, बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ मा उल्लेख गरे बमोजिमका प्रावधानहरुको प्रचार प्रासार एवम् कार्यान्वयन गर्ने ।
  5. विद्यालयले सरोकारवालाको सहभागितामा आफ्नो वार्षिक कार्ययोजना बनाई नियमित शैक्षिक तथा प्रशासनिक कार्य गर्ने र विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने तथा टिकाउने प्रयत्नसहित विद्यालयको समग्र विकासका लागि सरोकारवालाको सहभागितामा विद्यालय सुधार योजना अद्यावधिक गरी कार्यान्वयन गर्ने ।
  6. विद्यालयहरुले कम्तीमा एक एक सेट सबै तहको पाठ्यक्रम, शिक्षक निर्देशिका‚ शिक्षा ऐन नियमावली‚ विद्यालय शिक्षासँग सम्बन्धित निर्देशिकाहरु तथा स्थानीय पाठ्यसामग्री अनिवार्यरुपमा राख्नु पर्ने । विद्यालय शिक्षालाई सूचना, प्रविधियुक्त र फराकिलो ज्ञानमुखी बनाउन पुस्तकालय तथा E-Library स्थापना र प्रयोगमा जोड दिने ।
  7. प्रत्येक विद्यालयले सरोकारवालाको सहभागितामा शिक्षक, विद्यार्थी तथा अभिभावकका आचारसंहिता बनाई लागु गर्ने । यस्तो आचारसंहिता र विद्यालयको नागरिक बडापत्र विद्यालयमा सबैले देख्ने गरी टाँस गर्ने र सम्बन्धित स्रोतकेन्द्रमा अभिलेखका लागि पेस गर्ने ।
  8. शिक्षा ऐन, नियममा व्यवस्था भएबमोजिम समयमा विद्यालयमा उपस्थित हुने र विद्यार्थी केन्द्रित, भयरहित र सकारात्मक वातावरणमा बालमैत्री कक्षा शिक्षणको व्यवस्थापन गर्न शिक्षकले जोड दिनुपर्ने । विद्यालयको आवश्यकता अनुसार आफू नियुक्त भएको तह बाहेक अन्य तहमा अध्यापन गर्नुपर्ने बाध्यता भएमा पनि कम्तीमा दैनिक १ पिरियड आफ्नो तहमा अध्यापन गर्नुपर्ने ।
  9. शिक्षकले प्रधानाध्यापक समक्ष लिखित जानकारी गराएर मात्र नियमानुसारको विदा उपभोग गर्ने । टेलिफोन मार्फत सञ्चार हुनसक्ने सामान्य विषयमा पनि प्रधानाध्यापक वा शिक्षक विद्यालय बाहिर रहने कार्यलाई न्यूनीकरण गर्नुपर्ने । साथै प्रधानाध्यापकले हरेक वर्ष चैत्र मसान्तमा शिक्षकको सञ्चित विरामी विदा सम्वन्धित विद्यालय निरीक्षकबाट प्रमाणित गराई अद्यावधिक गर्नुपर्ने ।
  10. विद्यालयबाट नियमित रुपमा सङ्कलन गर्ने गरिएको तथ्याङ्क फाराममा वास्तविकभन्दा बढी विद्यार्थी संख्या उल्लेख भई आउँदा समग्र शैक्षिक योजना र सेवा वितरणमा नै नकारात्मक असर पर्ने गरेकोले यस्तो कार्य नगर्ने नगराउने । जानाजान वस्तुनिष्ठता कायम नभएमा विद्यालयले पाउने सुविधा रोक्का गरिने ।
  11. स्थानीय समुदायमा आवश्यकताभन्दा बढी विद्यालयहरु स्थापना गरी सञ्चालन गर्दा सरकारी स्रोत, साधनको दुरुपयोग हुने तथा स्थानीय समुदाय र लगानीकर्ताको लगानी र श्रमसमेत खण्डित भई बढी दायित्व वहन गर्नुपर्ने हुनाले विद्यार्थी संख्या कम भएका स्थानमा रहेका विद्यालयहरुलाई नजिकका विद्यालयमा गाभ्ने वा सार्ने अथवा विद्यालय बन्द गर्ने वा तह घटाउने प्रक्रिया अगाडि बढाउने ।
  12. विद्यालय व्यवस्थापन समितिको म्याद सकिएपछि शिक्षा ऐन  र नियमावली अनुसार समय मै पुनःगठन गर्ने तथा गैर अभिभावकहरुलाई वि.व्य.स.को अध्यक्ष र शिक्षक अभिभावक संघको अध्यक्ष पदमा नराख्ने । विद्यालय व्यवस्थापन समितिको बैठक कम्तिमा २ महिनाको १ पटक बस्ने व्यवस्था मिलाउने र उक्त बैठकमा सम्बन्धित क्षेत्रको निरीक्षकलाई आमन्त्रण गर्ने तथा शिक्षक अभिभावक संघ एवम् गाउँ शिक्षा समितिलाई समेत सक्रिय गराउने ।
  13. कतिपय विद्यालयमा जेष्ठ शिक्षकहरु कार्यरत हुँदाहूँदै कनिष्ट शिक्षकहरुलाई प्रअको जिम्मेवारी दिइएको अवस्था रहेको पाइएकोले तत्काल शिक्षा नियमावली बमोजिम विद्यालयमा कार्यरत शिक्षकहरु मध्येबाट स्थायी र जेष्ठ शिक्षकलाई प्राथमिकताका साथ निप्रअ तोकी यस कार्यालयमा जानकारी गराउने । विशेष कारणबाट अन्यशिक्षकलाई निप्रअ पदको जिम्मेवारी दिनुपरेमा जेष्ठ शिक्षकको सहमति अनिर्वाय रुपमा पेस गर्नुपर्ने । शिक्षा नियमावली अनुसार अविलम्ब प्रअ नियुक्तिको प्रक्रिया अगाडि बढाउने ।
  14. विद्यालयले आर्थिक कारोबारको हिसाब राख्दा शिक्षा नियमावलीको अनुसूची २३ मा तोकिएका नं. १ देखि १० सम्मका फारामअनुसार लेखा राख्नुपर्नेमा सो गरेको नपाइएकाले सो अनुसार गर्ने साथै आर्थिक नियमितता, मितव्ययिता र पारदर्शिता कायम गर्न प्रत्येक वर्ष तोकिए बमोजिम समय मै अनिवार्य रुपमा सामाजिक परीक्षण र अन्तिम लेखापरीक्षण गर्ने गराउने ।
  15. कक्षा ११ र १२ का कक्षाहरु पनि नियमित विद्यालय समयमा सञ्चालन गर्ने गराउने । कुनै विद्यालयमा कक्षाकोठाको अभाव भएका कारणबाट एउटै सिफ्टमा कक्षा सञ्चालन हुन सक्ने अवस्था नभएमा एकै सिफ्टमा सञ्चालन गर्ने भावी योजना बनाई जिल्ला शिक्षा समितिको पूर्व स्वीकृति लिएर मात्र अन्य समयमा कक्षा सञ्चालनको व्यवस्था मिलाउने । साथै विद्यालय क्षेत्र सुधार कार्यक्रमको भावना अनुसार उच्च मावि तहका लागि अलग्गै प्राचार्य रहने पद्दतिलाई निरुत्साहित गर्दै जाने ।
  16. प्रत्येक विद्यालयले शिक्षक तथा कर्मचारीलाई चौमासिक रुपमा तलबभत्ता भुक्तानी गर्दा अनिवार्य रुपमा तलबको १ प्रतिशत पारिश्रमिक कर, करको हद नाघेका शिक्षकहरुले १५ प्रतिशत आयकर स्थायी शिक्षकहरुको क.सं. कोष तथा बिमा कोष कट्टी गर्नु पर्नेछ । तलव भत्ताको माग गर्दा सोको भौचरको प्रतिलिपिसहित चौमासिकको दोस्रो महिनाको १५ गतेभित्र स्रोतव्यक्तिमार्फत जिल्ला शिक्षा कार्यालयमा माग फाराम पेश गर्नुपर्ने । नयाँ नियुक्त भएका शिक्षकका हकमा हाजिर भएको मितिबाट मात्र तलव भत्ता माग गर्नुपर्ने ।
  17. विद्यालयमा शान्त र उचित शैक्षिक वातावरण कायम गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक‚ अभिभावक, विद्यार्थी तथा सरोकारवाला बीच आपसी समन्वयमा सानातिना समस्यालाई स्थानीय रुपमा नै समाधान गर्ने गराउने ।
  18. विद्यालय हाता, कक्षाकोठा र शौचालयको नियमित सरसफाइको उचित व्यवस्थापन गर्नु गराउनु पर्ने ।
  19. कतिपय विद्यालयले समयमा छात्रवृत्ति उपलब्ध नगराएको भन्ने गुनासो आइरहेको हुँदा तोकिएको समयमा नै अभिभावकहरुको सहभागितामा छात्रवृत्ति वितरण गर्नुपर्ने ।
  20. स्थायी शिक्षकहरुले अनुसन्धान प्रतिवेदनसहित कासमू फाराम नियमानुसार भरी शैक्षिक सत्र समाप्त भएको ३० दिन भित्र  विद्यालयमा दर्ता गर्ने र प्रधानाध्यापकले मूल्याङ्कन गर्नु पर्ने भएमा सो समेत गरी जेष्ठ १५ गतेभित्र अनिवार्य रुपमा जिल्ला शिक्षा कार्यालयमा दर्ता गराई सक्नुपर्नेछ । साथै स्थायी शिक्षकले आर्थिक वर्ष अन्त भएको ६० दिन भित्र सम्पत्ति विवरण विद्यालय शिक्षक कितावखानामा पेश गर्ने  ।
  21. विद्यालयस्तरीय, जिल्लास्तरीय र एस.एल.सी. परीक्षालाई मर्यादित तुल्याउन आ–आफ्नो विद्यालयमा ठोस कार्ययोजना जस्तैः निरन्तर मूल्याङ्कन पद्दति कार्यान्वयन, शिक्षक निर्मित परीक्षाको व्यवस्थापन तथा परीक्षाफल विश्लेषण गरी विषयगत, कक्षागत तथा तहगत उपलब्धि पहिचान सहित शिक्षणमा सुधार योजना बनाइ कार्यान्वयन गर्नु गराउनु पर्ने ।
  22. विद्यालयमा विद्यार्थी भर्ना गर्दा अनिवार्य जन्मदर्ता प्रमाण-पत्रको छायाँप्रति अभिभावकसँग लिने र विद्यार्थीको जन्ममिति अभिलेखमा जनाउँदा जन्मदर्ता प्रमाण-पत्रमा उल्लेखित जन्ममिति अनिवार्य रुपमा विद्यालयको अभिलेखमा राख्ने अवस्था मिलाउने । विद्यालयले जिल्ला स्तरीय परीक्षा कक्षा ८ को अभिलेख र कक्षा ९ मा विद्यार्थीको रजिस्ट्रेशन फारम भराउँदा समेत निजको जन्मदर्ता प्रमाण पत्र अनिवार्य गरी नाम, थर, जन्ममिति पछिसम्म फरक नपर्ने गरी व्यवस्था मिलाउनु पर्ने ।
  23. स्रोतकेन्द्र तहमा आयोजना गरिने विभिन्न शैक्षिक कार्यक्रमहरुमा स्रोतकेन्द्र विद्यालयबाट सक्रिय सहभागीता जनाई अनुकरणीय तथा अगुवा विद्यालयको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । यसका लागि स्रोतकेन्द्र व्यवस्थापन समितिलाई सक्रिय गराउने ।
  24. हरेक वर्ष मितव्ययी रुपमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तथा राष्ट्रिय शिक्षा दिवस, बालदिवस, सस्वतीपूजा जस्ता दिनलाई विभिन्न कार्यक्रम गरी प्रेरणादायी बनाउने । यस्ता कार्यक्रमहरु सञ्चालन गर्दा स्थानीय लोक सँस्कृतिको संरक्षण‚ सम्बर्द्धन तथा प्रबर्द्धनलाई सहयोग पुग्ने  गरी कार्यक्रम सञ्चालन गर्ने ।
  25. विद्यालयको विकासका लागि कुनै दातृपक्षबाट ठोस सहयोग प्राप्त गर्दा जिल्ला शिक्षा कार्यालयसँग समय मै समन्वय गर्ने ।
  26. विद्यालयको भौतिक संरचना प्रयोग गरी हाता भित्र सकभर क्याम्पस सञ्चालन नगर्ने । यसरी क्याम्पस सञ्चालन गर्नै पर्ने भएमा विद्यालयको नियमित पठनपाठनको समयमा बाधा नपर्ने गरी तथा विद्यालयको दीर्घकालीन हित हुने सुनिश्चितता सहित नियमानुसार सम्झौता गर्ने ।
  27. विद्यालयमा कार्यरत शिक्षकहरुले अन्यत्र काम गर्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिनु पर्ने प्रावधानलाई अनिवार्य रुपमा कार्यान्वयन गर्ने ।
  28. आफ्नो सेवा क्षेत्र भित्र अनुमति नलिई वा शाखा विद्यालयको बहानामा सञ्चालित संस्थागत विद्यालय भएमा त्यस्ता विद्यालयमा विद्यार्थी भर्ना नगराउन अभिभावक वर्गमा सचेतना बढाउने तथा जिल्ला शिक्षा कार्यालयमा जानकारी दिई नियमन गर्न गराउन पहल गर्ने ।
  29. समय समयमा शिक्षा सरोकारवाला, स्रोतव्यक्ति, विद्यालय निरीक्षक, जिल्लास्तरीय तथा केन्द्रिय निकायबाट विद्यालयको अनुगमन तथा निरीक्षणका क्रममा दिइएका सबल पक्षहरुको सुढृढीकरण र सुधार गर्नुपर्ने पक्षमा दिइएका सुझाबहरु कार्यान्वयन गर्ने गराउने ।
  30. विद्यालयले ३ महिनामा १ पटक शिक्षक¸ विद्यार्थी र अभिभावक समेतको सहभागितामा शैक्षिक अन्तरक्रिया सञ्चालन गर्ने गराउने ।
  31. अभियानको रुपमा रहेको साक्षरता अभियान कार्यक्रमलाई सफल बनाउन आफ्नो विद्यालय सेवाक्षेत्रका निरक्षरहरुको पहिचान गरी कक्षा सञ्चालन र व्यवस्थापनका लागि पहल गर्ने तथा निरक्षरहरुलाई पढ्नको लागि प्रेरणा जगाउने ।
  32. प्रत्येक शिक्षक तथा विद्यालयले शैक्षिक उपलब्धि विश्लेषण गर्दा हालको अवस्था र आगामी वर्षको लक्ष्य किटान गरी योजना निर्माण गर्ने तथा सार्वजनिक समेत गर्ने ।
  33. पाठ्यक्रमले तोकेको पाठ्यभार बमोजिमको दैनिक कार्यतालिका अनिवार्य रुपमा निर्माण गरी अध्यापन गर्ने गराउने व्यवस्था मिलाउने । सबै शिक्षकहरुलाई प्रत्येक शैक्षिक वर्षको बैशाख १५ गतेभित्र आफूले पढाउने विषयको वार्षिक शैक्षणिक योजना निर्माण गर्न लगाई प्र.अ.द्वारा प्रमाणित गरी कार्यान्वयनको व्यवस्था मिलाउने ।
  34. शिक्षक वैयक्तिक तथा नोकरी विवरण नबुझाएका स्थायी शिक्षकहरुले १५ दिनभित्र आफ्नो विवरण भरी जि.शि.अ.द्वारा प्रमाणित गराइ विद्यालय शिक्षक कितावखाना ताहाचल काठमाण्डौमा शिक्षक आफै वा विद्यालय मार्फत कितावखानामा पुर्‍याई शिक्षक संकेत नम्बर कायम गराइ उक्त संकेत नम्बर यस कार्यालयमा पेश गर्ने ।

........................

(धनसिंह धामी)

जिल्ला शिक्षा अधिकारी